विमललाई थाइल्याण्डमा क्रियटिभ डिरेक्टर अवार्ड

काठमाडौं । रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड मा मोस्ट क्रियटिभ डिर्क्टरको अवार्ड प्राप्त गरेका छन् । इ प्लानेट इन्टरनेशनल सिंगापुर र थाईल्याण्डको संस्थाले आयोजना गरेको यस अवार्डका लागि संसारभरका ३० बढी देशबाट ८९७० दाबेदार थिए । यी सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पारेका हुन् । केन्याका राजदूतश्री लिन्ड्से किमवलकिपतिनेस र मंगोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रुपमा विमल सुवेदीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

विमलले यसघि पनि भारतबाट ओटिजी अन्तर्राष्ट्रिय अवार्ड, मेटा अवार्ड र गत वर्ष मलेसियाबाट अन्तर्राष्ट्रिय हेरिटिज अवार्ड प्राप्त गरेका थिए । यसबाहेक उनका कामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विभिन्न अवार्डहरु हात पारिसकेका छन् । अभिनयबाट आफ्नो यात्रा सुरु गरेका विमल सुवेदी, नाट्य निर्देशनमा अत्यन्त सफल निर्देशक मानिन्छन् ।

दिल्लीको नेसनल स्कुल अफ ड्रामाका ग्रयाजुएट विमल राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा परिचित नाम हो । उनको लेखन तथा निर्देशन रहेका नाटक २५ भन्दा बढी देशका मञ्चमा प्रस्तुत भइसकेका छन् । उनले विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयतथा संघ संस्थाहरुसँग सहकार्य गरिसकेका छन् । विमल सुवेदी थिएटर भिलेज नेपालका फाउण्डर तथा निर्देशक पनि हुन् । थिएटर भिलेज नेपालमा नयाँ शैलीका नाटक मञ्चन गर्ने समूहको रुपमा स्थापित छ । ।

विमलका नाटकमा मनोरञ्जनभन्दापनि सामाजिक अवस्था, राजनीति सिमान्तकृत आवाज तथा समसायिक कुराहरुको मिश्रण पाइन्छ । यही कारण उनका नाटक देशसँगै विदेशका मञ्चमा पनि प्रशंसित छन् ।

२०१३मा विमलले थाईल्याण्डमा, ४ हजार भन्दा बढीको संख्यामा रहेका महिला कैदीलाई थाइल्याण्डकै केन्द्रीय जेल भित्रै थिएटर फर रिह्याविलिटेशन वर्कशप गरेका थिए । जसले उनीहरुमाथि परिवर्तनकारी काम गरेको थियो र यसको थाइल्यान्डको प्रेसले पनि प्रशंसा गरेको थियो । विमलका यस्ता धेरै कामहरु र उनका २० वर्ष लामो योगदानको कदर गर्दै थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत, मोस्ट क्रिएटिभ डिरेक्टर अवार्ड २०२३ प्राप्त गरेका हुन् ।

कार्यक्रम, थाइल्यान्डको राजधानी नजिकै, पातुमथानीमा यही मंसिर ९ गते शनिवार सम्पन्न भएको थियो ।