सेभेन सिज इन्टरटेनमेन्टले किन्यो दयारानी

काठमाडौं । अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय फिल्म ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । सेभेन सिज इन्टरटेनमेन्टले फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गरेको हो ।

बुधबार निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच फिल्म रिलिजलाई लिएर औपचारिक रुपमा लिखित सम्झौता भएको थियो ।

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्म आगामी माघ २६ गतेबाट प्रदर्शन हुँदैछ । अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् । फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको पनि अभिनय छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्नेछ । गुरुङ समुदायमा दयालु युवतीलाई दयारानी भनिन्छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।