शनिबार ५१ औं दिन पुरा गर्दै परदेशी २

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । फिल्मले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो फिल्म दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको थियो । दर्शकको अपार मायाका साथ फिल्मले प्रदर्शनको लामो यात्रा तय गरेको हो । काठमाडौंसँगै देशका विभिन्न सहरमा फिल्म बिहीवार ४९ औं दिनमा प्रदर्शनरत छ ।

काठमाडौंमा अस्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा फिल्म प्रदर्शनरत छ ।

त्यस्तै, बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा फिल्म अहिलेसम्म निरन्तर चलिरहेको निर्माता राजेश वंशलले जानकारी दिए ।

फिल्मले कमाइ पनि राम्रो गरेको छ । घरेलु बक्स अफिसमा फिल्मले ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माता वंशलले बताए । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको फिल्मलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको समेत फिल्ममा शीर्ष भूमिका छ ।

मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध रहेको फिल्म दिर्घ खड्काले सम्पादन गरेका हुन् ।

विदेशमा पनि रुचाइँदै
नेपालका दर्शकमाझ रुचाइएको फिल्मको विदेश प्रदर्शन सुरु भइसकेको छ । फिल्म यूएई, कतार, इराक, ओमान, बहराइनलगायतका मध्यपूर्वका देशमा प्रदर्शनमा आइसकेको छ । कुवेतमा केही दिनमा प्रदर्शनमा आर्उँदैछ । माल्टामा फिल्मले दर्शकको निकै राम्रो माया पाइसकेको छ ।

अमेरिकाको विभिन्न सहरमा फिल्मको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयंम नै यतिबेला फिल्म प्रदर्शनका लागि अमेरिका पुगेका छन् । फिनल्याण्ड र स्पेनको बार्सिलोनामा फिल्म प्रदर्शन हुने क्रममा छ । जापानका केही सहरमा फिल्म प्रदर्शन तय भएर प्रचारप्रसार सुरु भइसकेको छ ।

कोरियामा डिसेम्बर ३ बाट फिल्म प्रदर्शनमा आउँदैछ । अस्ट्रेलिया, यूके, हङकङ, न्यूजल्याण्ड, क्यानडासँगै भारतमा समेत चलचित्र प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलले जानकारी दिए ।