दर्शन नमस्ते सायरेममा रोमान्टिक राजेश

काठमाडौं । भर्सटायल गायक राजेशपायल राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजेशपायलले ‘दर्शन नमस्ते सायरेम’ बोल गीतको भिडियोलाई शुक्रबार साँझ आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा बिर्ख गुरुङको शब्द र निरज लामाको संगीत तथा एरेञ्ज रहेको छ ।

युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा राजेशपायल र सन्ध्या स्याङ्तान फिचर्ड छन् । भिडियोमा एक युगल जोडीको प्रेमकथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।

ए वान म्युजिसियनमा रेकर्ड गरेको यस गीतको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।
राजेशपायल राई केही दिनअघि मात्र अमेरिकाको सांगीतिक टुर छोट्याएर नेपाल आएका हुन् ।

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच रहेकाले कार्यक्रम छोट्याएर नेपाल आएको राजेशपायलले बताए । उनी आएको केही दिनमै आफ्नो नयाँ भिडियो सार्वजनिक गरेका राजेशपायल राई यो मंसिर महिनाभर पूर्वी नेपालको सहरहरुमा कन्सर्टमा व्यस्त हुनेछन् ।

यही मंसिर १९ गते उदयपुरको बसाहा, २० गते लक्ष्मीमार्ग बेलबारी मोरङ, २२ गते पाँचथरको फिदिम र मंसिर २४ गते भोजपुरको दिङ्लामा राजेशपायलको कन्सर्ट हुँदैछ ।