भूकम्प पीडित ५५ परिवारलाई सुमनको सहयोग

काठमाडौं । फिल्म निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन् । बढ्दै गएको चिसोले भूकम्प प्रभावित जाजरकोट क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई त्यहाँ पुगेका हुन् ।

अनुग्रह फ़ाउण्डेशनका संस्थापक अध्यक्ष तथा फिल्म ‘गोर्खा वारियर’का निर्माता समेत रहेका राईले जाजरकोट भूकम्पपीडित ५५ परिवारलाई टेण्ट सामग्री र नगद प्रदान गरेका छन् ।

समाजसेवा गर्न रुचाउने राई स्वयं आफै उपस्थित भई जाजरकोट, नलगाड़ नगरपालिका ४ र ५ र बारेकोट गा बि स ९, सक्ला पुगेका थिए । उनले भूकम्पको मारमा परेका पीडित जाजरकोट बासीलाई सहयोग गर्न पाउँदा खुसी मिलेको प्रतिक्रिया दिएका छन् ।

राईले यस अघि विभिन्न ठाउँमा समाज सेवा मार्फत शिक्षा र सिनियर सिटीज़नका लागी अनुग्रह फ़ाउंडेशन मार्फत सहयोग गर्दै आई रहेका छन् । साथै, उनले सम्पूर्ण अनुग्रह फ़ाउंडेशन टिम र टिम सँग जोडिएका सबै लाई धन्यवाद दिएका छन् ।

गत १७ कात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको छ ।