नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौँ । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करण आजदेखि काठमाडौँमा सुरु भएको छ ।

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २६ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले फिल्ममार्फत मानव अधिकारका विषयलाई सहज रूपमा बुझाउन सकिने हुँदा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताए ।

‘मानव अधिकारको विषयलाई फिल्ममार्फत प्रवद्र्धन गर्न अझै सहज हुन्छ । फिल्ममा देखाइने शैलीलाई आममानिसले पनि बुझ्नुहुन्छ । त्यसैले त्यस्ता विषयलाई प्रोत्साहन गर्न यो महोत्सवको भूमिका र आवश्यकता महत्वपूर्ण छ’, अध्यक्ष मगरले भने ।

पछिल्लो समय विश्वमा युद्ध अपराध, मानवताविरुद्धको अपराध, मानव अधिकारको उल्लङ्घन, विभिन्न समूह र समुदायप्रति हुुने विभेद बढ्दै गएकाले यस्ता महोत्सवको सान्दर्भिकता झन् बढेको उनले बताए ।

महोत्सवका निर्देशक तथा मानव अधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डव खत्रीले सामाजिक न्याय र मानवअधिकार प्रवद्र्धनका उद्देश्यले सुरु गरिएको महोत्सवको एघारौँ संस्करण आयोजना हुनु मुलुककै लागि गर्वको विषय भएको बताए ।

‘मानवअधिकारको विषयलाई थप सशक्त बनाउन यस्ता महोत्सवले भूमिका खेल्नेछ । यसले स्वदेशी तथा विदेशी चलचित्रकर्मी र मानव अधिकारकर्मीबीच अन्तरक्रियाको अवसर प्रदान गर्छ’, महोत्सव निर्देशक खत्रीले भने ।

यसवर्षको महोत्सव मुख्य रूपमा ‘सामूहिक अधिकार’को विषयमा केन्द्रित रहेकाले सोही सन्दर्भ जोडिएका विषवस्तुका फिल्महरू छनौट गरिएको महोत्सवको निर्णायकमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छिन् ।

वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शनीसँगै सुरु भएको महोत्सवमा २६ देशका ५४ वटा फिल्म प्रदर्शन हुनेछन् । महोत्सव नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।