मृत भेटिए पारासाइट अभिनेता लि सन–क्युन

सोल(एजेन्सी) । दक्षिण कोरियाली अभिनेता लि सन–क्युन मृत भेटिएका छन् । विश्व प्रतिष्ठित ओस्कार अवार्ड विजेता ‘पारासाइट’का यी ४८ वर्षे अभिनेता सोलको मुख्य पार्कमा रहेको एक कारमा गत साता बेहोस अवस्थामा भेटिएका थिए ।

उनले आत्महत्या गरेको हो या होइन भन्ने निश्चित भइसकेको छैन । तर प्रहरीका अनुसार उनले घर छाड्नु अघि एक नोट लेखेका थिए । यी अभिनेता अवैध लागुऔषध सेवनको मामलामा गत अक्टोबरदेखि अनुसन्धानमा तानिएका थिए ।

कोरियाली पत्रिका योनह्यापका अनुसार उनले मारिजुआना र केटामाइन नामको लागुऔषध लिने गर्दथे । सोलको एक बारमा त्यहाँको महिला कर्मचारीले आफूलाई उक्त पदार्थ दिने गरेको तर त्यो लागुऔषध हो भन्ने आफूलाई थाहा नभएको अनुसन्धानमा बताएका थिए ।

ती महिला कर्मचारीले प्रहरीलाई लिले पटक–पटक आफ्नो घरमा आएर लागुऔषध सेवन गर्ने गरेको बयान दिएकी थिइन् । लिले आफ्नो वकिलमार्फत डिक्टेटर परीक्षणको पनि माग गरेका थिए ।

परीक्षणमा उनको लागुऔषध प्रयोग नतिजा नकारात्मक वा अपुरो थियो । अनुसन्धानको बीच समयमा लिको मृत्युप्रति प्रहरीहरुले पछुतो मानेका छन् ।

लिले कोरियन अभिनेत्री जियोन हेई–जीनसँग विवाह गरेका थिए । उनीहरुको दुई छोरा छन् । लिले अभिनयमा झण्डै दुई दशक बिताएका थिए । उनले दर्जनौं फिल्म, टेलिभिजन शोमा अभिनय गरेका थिए । सन् २०१० ताकामात्र उनी घरेलु दर्शकमाझ चिनिएका थिए ।

फिल्म ‘पारासाइट’मा उनले निर्वाह गरेको पार्क दोङ–इक चरित्रले उनलाई विश्वव्यापी रुपमा चिनाएको थियो । यो फिल्मले सन् २०२० को ओस्कार अवार्डमा चार प्रमुख अवार्ड जितेको थियो ।