मिसेस नेपाल वर्ल्डलाई पुरस्कार र प्रमाणपत्र

काठमाडौं । रिबन इन्टरटेनमेन्टले केही समय अघि राजधानीमा आयोजना गरेको ‘मिसेस नेपाल वर्ल्ड २०२३’ का विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ। हालै राजधानीको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा शीर्ष उपाधि विजेता पृथ्विया थापालाई इलेक्ट्रिकल स्कुटर तथा अन्य गिफ्ट ह्याम्पर प्रदान गरियो । उक्त स्कुटर अटो नेपाल म्यागजिनका डाइरेक्टर रोसनकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए।

त्यसै गरी मिसेस नेपाल वर्ल्डकी फस्र्ट रनर्सअप आइना गजुरेल, सेकेण्ड रनर्सअप निशा बिष्ट, थर्ड रनर्सअप सरु राज्यलक्ष्मी राणालगायतका विजेतालाई विभिन्न पुरस्कार तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

कोरियोग्राफर अश्विनीकान्त झाद्वारा सञ्चालित कार्यक्रममा मिसेस नेपाल इन्टरनेशनत सिर्जना केसीलाई यसुदाको टेलिभिजन, एमएस नेपाल इन्टरनेशन सीता सुवेदीलाई यसुदाको ओभन तथा मिसेस नेपाल वर्ल्डको टप फ्यान सन्ध्या गैरेलाई भ्याकुम क्लिनर प्रदान गरिएको थियो।

विजेताहरुलाई रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी, बागमती प्रदेशकी सभासद हरिप्रभा खड्गी, कर्णाली प्रदेशकी सभासद जानकी सिंह, पत्रकार अखण्ड भण्डारी, व्युटी पेजेन्ट एसोसिएन अफ नेपालका अध्यक्ष गोपालसुन्दर लाल कक्षपति, ग्रामिण महिला विकास तथा एकता केन्द्रकी महासचिव ज्योत्सना साउद, समाजसेवी डा. भद्रा भण्डारी, अभिनेत्री सरिता लामिछानेलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

रिबन इन्टरटेनमेन्टले एकै मञ्चमा मिसेस नेपाल वर्ल्ड २०२३, मिसेस नेपाल इन्टरनेसनल २०२३ र एमएस इन्टरनेशनल २०२३ चयन गरेको थियो । मिसेस नेपाल वर्ल्ड २०२३ पृथ्विया थापाले यही जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल सिर्जना केसीले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल, एमएस नेपाल इन्टरनेसनल सीता सुबेदीले सिंगापुरमै हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।