निर्देशक दीपकको प्रश्न–नयाँ कलाकार कसैलाई चाहिएको छैन ?

काठमाडौं । निर्देशक दीपक श्रेष्ठ करियरको २७ औं फिल्म ‘पर्खि बसें तिमीलाई’ लिएर यही पुष २७ गतेबाट दर्शकमाझ आउँदैछन् । यो फिल्ममा किरण श्रेष्ठ र रक्षा बुढाथोकीले शीर्ष भूमिकामा अभिनय गर्दै नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा हालै पत्रकारमाझ निर्देशक श्रेष्ठ दुःखी देखिए । कलाकारमा नयाँ र पुरानोको विभेदले गर्दा उनी दुःखी बनेका थिए । उनले नयाँ कलाकारलाई प्रोत्साहन गर्ने शैली हराएको प्रति चिन्ता व्यक्त गरे । ‘मैले अधिकांश फिल्मा कुनै न कुनै रुपमा नयाँलाई अगाडि ल्याएर अवसर दिएको छु । उहाँहरू आज स्थापित भएको पाउँदा मलाई खुसी लागेको छ । तर, अहिले अवस्था फेरिएछ । नयाँ भएपछि सङ्घर्ष गर्नुपर्ने रहेछ’, निर्देशक श्रेष्ठले भने ।

उनले नेपाली फिल्मलाई नयाँ कलाकार नचाहिएको आरोप लगाए । ‘नयाँ कलाकार कसैलाई चाहिएकै छैन । सबैको खोजाइ पुरानै छ । के अहिले स्थापित पुराना नयाँ थिएनन् ? मँ तर खोइ प्रोत्साहन ? अब आगामी दिनमा नयाँलाइ किन अवसर दिनु ?’, निर्देशक श्रेष्ठले प्रश्न गरे ।

अभिनेता किरण मण्डला नाटकघर हुँदै फिल्ममा आइपुगेका हुन् । उनले सातवर्षमा तेह्र नाटकमा अभिनय गरिसकेका छन् । यसै फिल्ममार्फत मुख्य अभिनेत्रीको रुपमा देखा पर्दै गरेकी अभिनेत्री रक्षाले अडिसन पास गरेर एक फिल्ममा काम गरिसकेपछि अहिले लिड रोलमा देखिएकी छिन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण छ ।