उपासना भन्छिन्– हात्तीछापको कथावस्तु शक्तिशाली छ

काठमाडौं । अमेरिकाबाट फर्र्किए अभिनेता दयाहाङ राई लगतै माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा व्यस्त छन् । दयाहाङ ‘हात्तीछाप’को कथाबाट प्रभावित भएर आफूले अभिनय गरेको बताउँछन् ।

दयाले यो फिल्मबाट आफू सन्तुष्ट रहेको बताए । उनले भने–‘यसको मुख्य उद्देश्य त व्यवसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न बिषयवस्तुलाई समेटेको छ । यो फिल्म दामी बनेको छ । यसैले, म उत्साहित छु ।’

दयासँगै रहेकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । ‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’ उनले भनिन् ।

फिल्मले पैसाको कथालाई पनि उठान गरेको दयाले बताए । यो फिल्मले आम नेपालीहरुको कथालाई जोड्ने उनको भनाई छ ।

किरण नेपालीको प्रस्तुतीमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।