विवाहको १२ वर्षपछि अलग्गिए इशा र भरत

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलको व्यक्तिगत जीवन एक महिना यता चर्चाको विषय बनेको छ । इशाको १२ वर्षे वैवाहिक जीवन टुंगिने चर्चा परिचर्चा भइरहँदा अब भने यसले आधिकारिक टुंगो पाएको छ ।

मंगलबार इशा र उनका पति भरत तख्तानीले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै आपसी सहमतिमा वैवाहिक जीवन टुंग्याएको उल्लेख गरेका छन् ।

‘हामी आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौं । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमले हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्वपूर्ण छ र हुनेछ । हामी यो कुराको सराहना गर्नेछौं कि हाम्रो गोपनियताको सम्मान गरिनेछ’, विज्ञप्तीमा भनिएको छ ।

इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । यो जोडीको दुई छोरी राध्या र मियारा छन् । राध्या सन् २०१७ मा र मियारा सन् २०१९ मा जन्मिएका हुन् ।

इशा पछिल्लो केही समय यता अभिनयबाट टाढा छिन् । यद्यपि उनले लामो समयपछि ओटिटीमार्फत कमव्याक गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘एक दुआ’ले ६९ औं नेशनल अवार्डमा फिचर विधामा स्पेशल मेन्सन अवार्ड पाएको थियो ।