दंगलकी बाल कलाकार सुहानीको निधन

मुम्बई(एजेन्सी) । अभिनेता आमिर खानको फिल्म ‘दंगल’ मा आमिरकी छोरीको भूमिकामा अभिनय गर्ने सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । फरिदाबादमा बस्ने उनको निधनको कारण शरीरमा पानीको मात्रा बढी भएको बताइएको छ ।

केही समयअघि मात्र सुहानी दुर्घटनामा परेकी थिइन् । जसकारण उनको खुट्टा भाँचिएको थियो । उपचारका क्रममा सुहानीले प्रयोग गरेको औषधिले ‘साइड इफेक्ट’ गरेपछि उनको शरीरमा पानी भरिँदै गयो । उनी लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएकी थिइन् ।

सुहानी बलिउडकी लोकप्रिय बाल कलाकार थिइन् । उनले सन् २०१६ मा आमिर खानको फिल्म ‘दंगल’बाट चर्चा पाइन् । फिल्ममा उनले जूनियर बबिता फोगटको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनको अभिनय सबैले मनपराएका थिए । उनले कैयौं टेलिभिजन विज्ञापनमा पनि अभिनय गरेकी थिइन् ।

फिल्म ‘दंगल’ पछि उनलाई धेरै फिल्मबाट अभिनयको प्रस्ताव आए पनि उनले कामबाट ब्रेक लिने निर्णय लिएकी थिइन् । उनी आफ्नो पढाई पुरा गर्न चाहन्थिइन् । उनले कैयौं अन्तरवार्तामा पढाई पुरा गरेपछि फिल्ममा फर्किने बताउँदै आएकी थिइन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने सुहानी सन् २०२१ नोभेम्बर २५ देखि इन्स्टाग्राम एकाउण्टमा सक्रिय थिइनन् । यसअघि उनले इन्स्टाग्रामा आफ्ना तस्वीर शेयर गरिरहन्थिइन् । सुहानीको परिवर्तन देखेर मानिस चकित पर्थे । उनको स्वरुप पनि निकै बदलिएको थियो ।