एक मुठ्ठी बादलको छायांकन पुरा

काठमाडौं । बहुसंख्यक महिला युनिटको संलग्नता रहेको फिल्म ‘एक मुठ्ठी बादलः माइ शेयर अफ स्काइ’को छायांकन पुरा भएको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा फिल्ममा पहिलो पटक महिलाले फिल्म निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गरेका छन् । पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्म २२ दिनमा सकिएको हो ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा फिल्मकर्मीहरू भित्रको महत्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो । अनुसन्धानमा नेपाली फिल्ममा १० प्रतिशतभन्दा कम महिलाहरूले फिल्म निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको देखाएको थियो । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा फस्टाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधाहरूमा महिलाको भूमिका चयन गरेको हो । यसले फिल्म निर्माणमा विद्यमान लैङ्गिक असमानता र असन्तुलनलाई चुनौती दिने विश्वास निर्माण पक्षको छ ।

फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारीलगायतको अभिनय छ ।

फिल्ममा लिन ड्यानको छायांकन छ । भियतनामकी ड्यानको यो तेश्रो फिचर फिल्म हो भने ‘एक मुठ्ठी बादल’ पहिलो नेपाली फिचर फिल्म हुनेछ । यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन् । फिल्ममा कीर्ति जोशीले मेकअप विभागको प्रमुख र जानकी कडायतले पोशाक विभागको जिम्मेवारी सम्हालेकी थिइन् ।

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेको फिल्म अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाले संयुत्त रुपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ ।

८ मार्च अर्थात नारी दिवस तथा, महाशिवरात्रीको अवसर पारेर फिल्मको शुभ मुर्हत सँगै सुटिङ सुरु गरिएको थियो । फिल्म आउँदो वर्ष रिलिज हुनेछ ।

निर्देशक सहारा शर्माले फिल्मको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहे पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन् । २८ वर्षीय छायांकार ड्यानले खराब मौसम र भाषाको समस्याका बीच पनि नेपालको लाइटिङ र क्यामरा क्रुको परिश्रमले सुटिङ भनेकै समयमा सकिएको बताइन् । बलिउडका ’रक्षा बन्धन’ लगायतका फिल्ममा आर्ट असिस्टेन्टको काम गरेकी यशस्वी सबरवालले नेपाल हरकोहीलाई स्वागत गर्ने प्रकृतिको रहेको र आफूले पनि त्यस्तै स्वागत पाएको बताइन् ।