गगनको मेरो गीत तिमीलाई हो

काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले गायकको रुपमा दर्शक तथा स्रोतामाझ आएका छन् । धरानमा हुर्किएका यी २१ वर्षीय गगन आफ्नै शब्द, संगीत तथा स्वरको पहिलो गीत ‘मेरो गीत तिमीलाई हो’लिएर दर्शक तथा श्रोतामाझ आएका हुन् ।

उनले आफ्ना आमाबुवाको २३ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर ओएसआर डिजिटलको यूट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

एसडी म्युजिक प्रोडक्सनको संगीत संयोजनमा बनेको यो गीतमा सुशिलविक्रम शाहको मिक्सिङ तथा मास्टरिङ रहेको छ भने गीतका रेकर्डिष्ट पनि उनै हुन् । गुञ्जन रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

गायक आले तथा गीतको भिडियोकी मोडल समी लावतीको स्क्रिप्टमा म्युजिक भिडियो तयार पारिएको छ । कृष्णदेव रुपाखेतीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा गायक गगन आले तथा मोडल समी लावती फिचर्ड छन् । गगन झैँ समी पनि जन्मजात दृष्टिविहिन् हुन् ।

दृष्टिविहिन् व्यक्तिको मनमा पनि प्रेमको भावना जागृत हुनसक्छ । उनीहरु पनि सामान्य मानिसहरु झैँ भावुक हुन्छन् । उनीहरुको दृष्टिकोण र जीवन भोग्ने भोगाइ पनि अन्य सामान्य मानिसको भन्दा पृथक हुँदैन भन्ने भावना गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ ।
मुकेश हुमागाईँ तथा समुहले छायांकन गरेको यो गीतको भिडियोमा राहुल बराइलीको कोरियोग्राफी छ । मिन रावलद्वारा सम्पादन गरिएको यो भिडियोमा काठमाडौंको फर्पिङ क्षेत्रका आकर्षक लोकेशनहरु देख्न सकिन्छ ।