मनसरा ट्रेलरमा अव्यक्त प्रेम र व्यक्त शंका

काठमाडौं । कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय फिल्म ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । चार मिनेट लामो ट्रेलरमा यसअघि रिलिज टिजरका कुराहरुलाई थप व्याख्या गरेको छ । टिजरमा प्रमुख पात्रलाई स्थान दिइरहँदा ट्रेलरमा अन्य कलाकारलाई पनि समेटिएको छ ।

राजधानीमा बुधबार एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा बाहुन बाजे बनेका प्रविण खतिवडा र लिम्बुनी चरित्रमा देखिएकी मिरुनाको अव्यक्त प्रेम र उक्त प्रेमले प्रविणकी श्रीमति भूमिकामा देखिएकी मेनुकाभित्र उत्पन्न शंका र द्वन्द्वलाई देखाइएको छ ।

ट्रेलरमा अभिनेता दयाहाङ राई र मिरुना विवाहित जोडी रहेको खुलाएको छ । दयाहाङ घरमा नहुँदा छोरालाई स्याहारिरहेकी मिरुनाको जीवनमा प्रविणको प्रवेशपछि मिरुनामा देखिएको डरलाई पनि स्थान दिइएको छ ।

यही वैशाख २१ गते रिलिज हुने फिल्ममा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई, विप्लव प्रतिकलगायतको अभिनय छ । ट्रेलरमा उपेन्द्रले अघिल्लो फिल्म ‘जारी’को जस्तै नयाँ फ्लेभर छोडेका छन् ।

निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन् । फिल्ममा विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले फिल्मको वितरण गर्नेछ ।