बलिदानमा दिव्य देव अनुबन्धित

काठमाडौं । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट फिल्म ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस फिल्ममा भित्र्याइएको हो ।

फिल्मका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए। ‘अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौं तर औपचारिक रूपमा भने फिल्मको विषयमा कुराकानी गर्न पाएका थिएनौं । ‘बलिदान’को एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ’, निर्देशक सेनले भने, ‘यस फिल्ममा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौँ । चलचित्रमा नयाँ भित्रिनुभएका कलाकारहरू पनि पहिले नै पोख्त भइसक्नुभएको छ ।’

नाट्य कर्म र फिल्म अभिनयलाई सँगसँगै हिँडाइरहेका दिव्यले प्रमुख भूमिका निभाएको फिल्म ‘चिसो एस्ट्रे’बाट धेरै फिल्मकर्मीको नजरमा परेका थिए । उनले ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका फिल्ममा अभिनय गरेका छन् भने उनको प्रतीक्षित फिल्म ‘रुदाने’ भने रिलिज भएको छैन ।

अभिनेता दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । गत वर्ष नै रिलिज भएको यसको टिजरमा आवाज दिएका उनले निर्देशक सेनले त्यही बेला नै सँगै काम गर्ने प्रस्ताव गरेको बताए ।

फिल्मको प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । यस फिल्ममा यसअघि अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् ।

फिल्मको हाल इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै छायांकन हुँदैछ । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।