प्रदीपको एक्टर मुहुर्त

काठमाडौं । ललितपुरको भैसेपाटीमा फिल्म ‘एक्टर’को शुभसाइत गरिएको छ । कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो ।

शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देव लगायत उपस्थित थिए ।

दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो । समारोहमा अर्का अभिनेता दिव्यदेव पन्त पनि सहभागी रहेको थियो ।

वैशाखको अन्तिम साताबाट सुरु हुने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्ममा राजन भुसालको निर्देशन रहनेछ । थमनकुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् ।

फिल्मलाई कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए ।