ऐरीमा जवानका साङ्गे अनुबन्धित

काठमाडौं । बलिउड फिल्म ‘जवान’मा अभिनय गरेका भुटानी कलाकार साङ्गे सेल्ट्रिम नेपाली फिल्म ‘ऐरी’मा अनुबन्धित भएका छन् । साङ्गे र फिल्मका निर्देशक जीवन थापाबिच कागजी संझौता भएको छ । फिल्मका लागि सम्झौता गर्न साङ्गे मंगलबार नेपाल आएका थिए ।

अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहने फिल्ममा साङ्गेको भूमिका खुलाइएको छैन । अभिनेता साङ्गेले फिल्मको कथावस्तु मन परेकोले नेपाली फिल्ममा अभिनय गर्न इच्छुक भएको बताए । ‘फिल्मको कथावस्तु ऐतिहासिक छ । मलाई सधैं योद्धाको कथामा काम गर्न मन थियो । ऐरीले त्यो सपना पुरा गर्दैछ’, उनले भने ।

उनले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाईमा लैजानका लागि पनि आफूले यो फिल्म साइन गरेको बताए ।

यो फिल्म नेपाली, हिन्दी र दक्षिण भारतीय भाषामा डब गरिनेछ । फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ ।