नयाँ स्वरुपमा आउँदै आचार्य

काठमाडौं । १३ वर्षअघि रिलिज फिल्म ‘आचार्य’ आगामी असार ७ गतेबाट पुनः पदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म पुनः प्रदर्शनको जानकारी दिइयो ।

गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्मलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले फिल्म प्रदर्शन गर्नेछ ।

फिल्ममा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन् । उनी फिल्मका निर्माता पनि हुन् । पहिलो पटक फिल्म रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ । उनका अनुसार, नयाँ फिल्मजस्तै गरी रिलिज गरिनेछ । आगामी साता ट्रेलर रिलिज गरिँदैछ । असार ५ गते राजधानीमा फिल्मको भव्य प्रिमियर शोको आयोजना गरिनेछ ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको फिल्ममा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरुप सिनेमा पुनः रिलिज गर्न लागेको छोरा स्वरुप राज आचार्यले बताए । ‘सायद त्यो बेला यो फिल्मका लागि सही समय थिएन होला । अहिले एकदमै उपयुक्त समय लागेकाले फिल्म पुन रिलिज गर्न लागिएका हो’, उनले भने ।

फिल्ममा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा फिल्म निर्माण गरिएको छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो फिल्मले देखाउँछ ।

फिल्मको पुन रिलिज घोषणा कार्यक्रममा संगीतकार लक्षण शेष, चेतन सापकोटाले ‘आचार्य’ पुनः रिलिज गर्नु भजन शिरोमणीको लागि अर्थपूर्ण श्रद्धाञ्जली हुने बताएका थिए ।

फिल्मको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम ‘टुल्की’ निर्देशक देवजंग थापाले गरेका हुन् । फिल्ममा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । यस पटक आफुहरुले दर्शकलाई पूर्ण रुपमा बायोपिक फिल्म देखाउन खोजेको अभिनेता सत्यराज आचार्यले बताए । फिल्मका निर्माता रोशन राई हुन् ।