साइग्रेसको कथामा अधुरो प्रेमको घोषणा

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबार आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६० औँ शृङ्खलामा साइग्रेस आफैले फिल्मको घोषणा गरे ।

शिशिर खातीले निर्देशन गर्ने फिल्म प्लानेट थ्री फिल्मस्ले निर्माण गरेको छ । प्लानेट थ्रीले यसअघि फिल्म ‘रङ्गेली’ निर्माण गरेको थियो । फिल्ममा अर्जुन सुवेदी कार्यकारी निर्माता छन् ।

साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्षअघि अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो उपन्यास ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ । एक हजार बढी दर्शकमाझ आयोजित कार्यक्रममा फिल्म घोषणा अघि साइग्रेसले आफ्नो जीवन कथालाई फोटो प्रस्तुतिमार्फत देखाएका थिए । उनले जीवनको एक कालमा भएको प्रेमबारे आफूले अडियो नोभेल तयार पारेको खुलाए । फिल्ममा सुजन चापागाईं र उनको टिमले तयार पार्नेछ । तर यो गीत फिल्ममा हुनेछैन ।

‘यो सम्भव भएको पनि तपाईँकै कारणले हो । म केही छु भने यो तपाईँको प्रेमले हो । यो फिल्म बन्नु लाग्नुको कारण पनि तपाईँ नै हो’, उनले भने, ‘मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो । मलाई साह्रै नै डर लाग्यो। त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ । उहाँले हुँदैन भन्दै ‘मलाई त्यही कथा चाहिन्छ, मलाई जुन काममा चुनौती हुन्छ त्यही गर्न चाहन्छु’ भन्नुभयो ।’ मलाई अझै पनि डर थियो, मैले पाँच पटकको भेटपछि मात्र कथा दिएँ । अब तपाईँको प्रेमले सफल हुनेछ ।’

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यानमध्ये एक रहेको बताए । ‘मैले लगातार सात–आठ महिना देखी चलचित्रको विषयलाई लिएर पिछा गरिरहेको थिएँ । धेरै पटक उहाँलाई भन्ने कोसिस गरेँ, तर सकिन । एक दिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई भेटाइदिन आग्रह गरेँ। भेटपछि मेरो सबै कुरा राखेँ, उहाँले मान्नुभयो । म आज तपाईँसामु जसरी बोलिरहेको छु, २०८२ सालमा चलचित्र रिलिज पछि पनि बोल्ने हिम्मत हुने गरी चलचित्र बनाउनेछु,’ शिशिरले भने ।

शिशिरले दर्जनौं म्युजिक भिडियोहरू र फिल्मका गीतमा कोरियोग्राफी गरेका छन् । कार्यकारी निर्माता सुवेदीले यसअघि फिल्म ‘रङ्गेली’ निर्देशन गरेका थिए । वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको पिःल्ममा कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन । फिलमका निर्माण नियन्त्रक मनोज जोशी हुन् ।