विधी लम्साल बनिन् मिस नेपाल पिस

काठमाडौं । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को शिर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् ।

लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । विजेता लम्सालले ‘मिस ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली ‘फस्ट रनरअप’ र ‘मस्त इन्टेलेक्च्युअल’ तथा सामाखुसीकी पला रेग्मी ‘सेकेन्ड रनरअप’ र ‘मस्ट चार्मिङ’ भए । पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन् । पराजुलीले विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण गरेकी छन् । तीनै विजेताले उपाधिका साथमा विभिन्न उपहार हात पारे ।

नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामा ‘स्पेसल अवार्ड नर्स विथ व प्रपोज’ मोनिका थापा मगर, ‘मस्ट फोटोजेनिक’ र ‘बेस्ट स्किन’ सदिति श्रेष्ठ, ‘मस्ट पपुलर’ र ‘पब्लिक च्वाइस’ लस्ता श्रेष्ठ, ‘मिस फिटनेस’ सलिना बादे र ‘मस्ट ट्यालेन्ट’ दिव्या बम ठकुरी बने ।