गीतकार डा. रिजाललाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान

काठमाडौं । गीतकार संघ नेपालले १५ औं स्थापना दिवसको अवसर पारेर गत सोमबार गीतकार डा. भोला रिजाललाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’बाट सम्मानित गरेको छ । उनलाई संस्कृति तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले १ लाख ५१ हजार रुपैंयाँसहित माला र ताम्रपत्रले सम्मान गरेका हुन् ।

संघले आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम–२०८०’ मा मैथिली गीतकार अशोक दत्तलाई २५ हजार २ सय ५२ नगदसहित ‘विष्णु मनसरा मातृभाषा २०८०’, अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई १५ हजार राशिसहितको ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरियो ।

त्यस्तै, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार–२०८०’ मा मदन माबोद्वारा लिखित ‘आमा’ र विष्णु भण्डारी लिखित ‘चाहना हो तिमी मेरो’ लाई प्रदान गरियो । दुवैले जनही २८ हजार ५ सय रुपैंयाँ नगद पुरस्कार प्राप्त गरे ।

यस्तै यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०८०’ बाट दुई गीति पुस्तक पुरस्कृत भए । गीतकार पूर्णबहादुर साउद ‘शिरिष’ लिखित ‘आधाआधी’ र जनक वाग्ले लिखित ‘मैना चरी कहाँ गई’ पुरस्कृत भएका हुन् । साउद र वाग्लेलाई जनही २८ हजार पाँच सय रुपैयाँ पाए ।