चितवन र पोखराका दर्शकमाझ पुजार सार्कीका आर्यन र अञ्जना

भरतपुर । गत जेठ १० गते रिलिज भएको फिल्म ‘पुजार सार्की’ले रिलिजको तेस्रो हप्तासम्म पुग्दा समेत दर्शकको चाप हलमा देखिएपछि फिल्म टिम चितवन र पोखराका विभिन्न हल भिजिटमा निस्केका छन् । शनिवार बिहानै अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल सहितको टिम चितवन पुगेको छ ।
चितवन खैरहनी नगरपालिकाको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति सिनेमा हल, नारायणगढको इन्द्रदेव सिनेमा, क्यूएफएक्स जलमा र भरतपुरको सिजि मलस्थित सिनेप्लेक्स (क्यूएफएक्स) सिनेमा हलमा ’पुजार सार्की’ टिमले दर्शक भेटी साक्षात्कार गरेको छ । यो टिमले आइतबार दिनभर पोखराका हलहरूमा दर्शक भेट्नेछ । पोखराका सबै हलहरूमा रिलिजको सुरुवात देखि नै यस फिल्मले दर्शकको उच्च उपस्थिति सहितको व्यापार गरिरहेको छ ।
आफ्नै क्षेत्रको कथा र पोखरा नजिक छायाङ्कन भएको कारण पनि पोखरामा दर्शकको चाप रहेको निर्देशक दिनेश राउतले बताए । हलमा पुग्दा चार पटक सम्म ’पुजार सार्की’ हेर्न आएका दर्शक देखेर आफू निकै खुसी भएको अभिनेता सिग्देलले बताए । यस चलचित्रमा ‘मैयाँ’को भूमिकामा रहेकी अभिनेत्री अञ्जना बराइलीले हलमा दर्शक भेट्न पाउँदा आफू सधैँ खुसी हुने बताइन् ।
रिलिजको सत्रौँ दिनमा करिब ८० शो सहित चलिरहेको यो चलचित्रले शनिवार देशभरका अधिकांश हलहरूमा हाउस फुल व्यापार गरिरहेको वितरक रोहित कट्टेलले बताए । दिनेश राउतको निर्देशन, सुबास भुसालको निर्माण, विकास सुबेदीको लेखन रहेको यो चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ ।