नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ फिल्म

काठमाडौं । आगामी असार ७ गतेबाट असार ९ सम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा फिल्म, वृत्तचित्र तथा सर्ट फिल्म चयन भएका छन् ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह–आयोजनामा हुन लागेको फेस्टिभलमा दक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैका गरी ९ देशबाट ८ वटा अफ्रिकन फिल्म चयन भएका छन् । जसमा ‘फुल्स’ र ‘द चेस्लर’ गरी २ वटा फिल्म, ‘वी ह्याभ नेभर बिन किड्स’ र ‘ह्वाईट पोसन’ गरी २ वटा वृत्तचित्र छन् । यस्तै ‘डाईनिज’, ‘अफस्प्रिङ’, सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ गरी ४ वटा सट फिल्म छन् ।

आयोजकका अनुसार यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जन बढी अफ्रिकन फिल्म, सर्ट फिल्म तथा वृत्तचित्र प्राप्त भएकोमा महोत्सवका लागि ८ वटा अफ्रिकन फिल्म छानिएका हुन् ।

यस्तै महोत्सवमा नेपालबाट ७ वटा नेपाली र आदिवासी फिल्म, ३ वटा वृत्तचित्र र १० वटा सर्ट फिल्म गरी २ वटा चयन भएको हो । नेपालबाट ७३ वटा फिल्म, वृत्तचित्र तथा सर्ट फिल्म प्राप्त भएकोमा निर्णयक टिमले फेस्टिबलको लागि २० वटा चयन गरिएको हो ।
छानिएका नेपाली तथा आदिवासी फिल्ममा ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’ रहेका छन् । यस्तै वृत्तचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो वायु’ र ‘चेसिङ द ड्रिम’ रहेका छन् ।

महोत्सवमा छानिएका नेपाली सर्ट फिल्ममा ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ छन् ।

महोत्सवकी अध्यक्ष एवं कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै फिल्मबाट दुई फरक महाद्धिपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएको बताइन् ।
महोत्सव निर्देशक डब्बु क्षत्रीले फेस्टिभलमा फिल्म प्रदर्शनसँगै अभिनय सम्बन्धी तीन दिनको विशेष कार्यशाला र अन्तरक्रिया कार्यक्रमहरु पनि रहेको बताए ।