रोमियो एण्ड जुलियट अभिनेत्री ओलिभियाको निधन

लसएन्जल्स(एजेन्सी) । सन् १९६८ को फिल्म ‘रोमियो एण्ड जुलियट’ अभिनेत्री ओलिभिया हसीको ७३ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनामा जन्मिएकी यी अभिनेत्री लण्डनमा हुर्किएकी हुन् । उनको गत शुक्रबार आफन्त र नजिकका व्यक्तिहरुको माझ लण्डनमै निधन भएको हो ।

हसीले ‘रोमियो एण्ड जुलियट’का लागि ‘गोल्डेन ग्लोब अवार्ड’मा नव अभिनेत्री विधामा अवार्ड जितेकी थिइन् । तर दशकौं पछि उनले उक्त फिल्म निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सलाई यौन दुव्र्यवहारको मुद्धा हालिन् । किनकी यो फिल्ममा उनले अभिनय गर्दा उनको उमेर केवल १५ वर्षको मात्र थियो । फिल्ममा उनले नग्न दृश्य दिएकी थिइन् । सन् १९७७ को टेलिभिजन मिनिसिरिज ‘जेसस अफ नजरेथ’ मा उनले जेससको आमा मेरीको भूमिकामा अभिनय गरेकी थिइन् । यो फिल्म उनको करियरको उल्लेखनीय फिल्ममा पर्दछ ।

हसी सन् १९५१ मा अर्जेन्टिनाको ब्युनर्स आयर्समा जन्मिएकी थिइन् । लण्डन जानुअघि उनी सात वर्षको उमेरमा लण्डन गइन् र त्यहाँको इटालिया कोन्टी एकेडेमी ड्रामा स्कुलमा अध्ययन गरिन् ।

१५ वर्षको उमेरमा ‘रोमियो एण्ड जुलियट’ निर्देशक फ्रान्को जेफिरेलीले उनलाई पहिलोपटक नाटक ‘द प्राइम अफ मिस जेन ब्रोडी’मा भनिसा रेडग्रेभको अपोजिटमा अभिनय गराए । जेफिरेलीले सेक्सपियरको नाटक ‘रोमियो एण्ड जुलियट’लाई फिल्ममा रुपान्तरण गर्ने तयारी गरिरहँदा उनी जुलियट चरित्रका लागि युवा अनुहारको खोजीमा थिए । यही मेसोमा उनले हसीलाई १६ वर्षे ब्रिटिस कलाकार लियोनार्ड ह्वाटिङ अर्थात् रोमियोको अपोजिटमा रहेर फिल्ममा अभिनय गराएका थिए ।

यो फिल्म ओस्कार अवार्डमा ‘उत्कृष्ट फिल्म’ र ‘उत्कृष्ट निर्देशक’ विधाको मनोनयनमा परेको थियो । दशकौं पछि हसी र ह्वाइटिङले जेफिरेलीविरुद्ध नग्न दृश्यलाई फिल्ममा प्रोत्साहित गरेको भन्दे मुद्धा हाले । जेफिरेलीको सन् २०१९ मा निधन भएको थियो ।

उनीहरुले ५ सय मिलियन डलरको क्षतिपूर्ति माग गरेका थिए । उनीहरुले आफूले भोगेको पीडा र फिल्म रिलिजपछि प्राप्त आयका आधारमा त्यो क्षतिपूर्ति दाबी गरेका थिए ।

तर गत वर्ष अदालतले फिल्ममा ‘पर्याप्त यौन सुझाव’ नभएको भन्दै उक्त मुद्धा खारेज गरिदिएको थियो ।