काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा सर्ट फिल्म निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह हुन् । आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा फिल्म निर्माण भएकोमा शाहले खुशी व्यक्त गरे । उनले लेखेको कृति ‘छापामारको छोरो’ ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो ।
सर्ट फिल्म ‘एक जोर जुत्ता’ मा श्रमिका लुइँटेल, सुरज पराजुली, रामबाबु रेग्मी, गीताश्री थापा, समिरा थापा, सितास्मा खड्का, सहदेव बस्नेत र राजु कारंजितको अभिनय रहेको छ । ऐना आर्टसको प्रस्तुतिमा निर्माण भएको सर्ट फिल्ममा नारायण जिसीको छायांकन, सुमित राईको कला निर्देशन र कविर शाक्यको निर्माण व्यवस्थापन छ । छायांकनअघि मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको सर्ट फिल्ममा अनिलकुमार महर्जनले रंग संयोजन तथा सम्पादन गरेका हुन् ।
सर्ट फिल्मको निर्माणसँगै कास्टिङ डिरेक्सन रंगकर्मी सुरेन्द्र क्षेत्रीले गरेका हुन् । बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत क्षेत्री काठमाडौंका विभिन्न स्कूलहरुमा पनि नाटक प्रशिक्षण गर्दै आईरहेका छन् । अहिले विद्यालयहरुमा पढाउने तरिका नै परिवर्तन भईरहेको अवस्थामा विद्यार्थीहरुका लागि कथा बुझ्न अझ सहज होस् भन्ने हेतुले सर्ट फिल्म निर्माण गरिएको निर्माता क्षेत्री बताउँछन् । उनले निर्माण गरेको सर्ट फिल्म ‘द स्कुल वाल’ले रसियामा उत्कृष्ट अवार्डसमेत प्राप्त गरेको थियो ।
सर्ट फिल्म ‘एक जोर जुत्ता’ को पटकथा तथा निर्देशन मोहन अभिलाषीले गरेका छन् । उनको लेखन तथा निर्देशनमा निर्माण भएको सर्ट फिल्म ‘भाउ’, ‘घुर्रा’, ‘पाउलो’, ‘द स्कूल वाल’ ले विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो । पछिल्लो समय उनले सर्ट फिल्म ‘दृश्य’ निर्माण गरेसँगै ठूलो पर्दाको फिल्म निर्माणको तयारीमा लागेका छन् ।






