नयाँ भर्सनको फेरि जालमा छायांकन



काठमाडौं । २०७२ सालमा रिलिज फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’ आगामी फागुन १४ गते रिलिज हुँदैछ । निर्माण पक्षले अघिल्लो फिल्मको लोकप्रिय गीत ‘जालमा’ लाई दोस्रो भागको प्रचारको माध्यम बनाउन यतिबेला निर्माण पक्ष कम्मर कसेर लागेको छ । निर्माण पक्षले हालैमात्र गीत ‘फेरि जालमा’को छायांकन पुरा गरेको छ ।

निर्माण पक्षले गीतको तस्विर सार्वजनिक गरेको छ । तस्विरमा फिल्मका मूल कलाकारहरु विनय श्रेष्ठ तथा सुपुष्पा भट्ट कँडेलको अभिनय छ । सो तस्विरमा उनीहरुलाई रोमान्टिक मुडमा दुई हात बाँधेर थरीथरीका रंगीन छाताहरुले साजइएको रुखाकृतिको अगाडि बसिरहेको देख्न सकिन्छ ।

यो सिक्वल गीतमा ‘जालमा’को संगीत र गायन टोली एकसाथ फर्किएको छ। गीत कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको हो भने शब्द मानस राजले लेखेका हुन् । यस्तै गायनमा काली र सोमिया बराईली रहेका छन् । यस्तै गीतको भिडियामा प्रदिप लामाको कोरियोग्राफी छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कँडेल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।

फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा छ । फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।