नयाँवर्षमा टेलिभिजनमा बद्रीको मानव

काठमाडौं । टेलिभिजनका दर्शकलाई ‘अविरल बग्दछ ईन्द्रावती’, ‘मौन आकाश’, ‘सहयात्री’, ‘कोरस’लगायतका चर्चित टेलिसिरियल दिइसकेका निर्देशक बद्री अधिकारीले नयाँ टेलिसिरियल ‘मानव’ नयाँ बर्षको छेको पारेर वैशाख १ गतेबाट दर्शकमाझ ल्याउने भएका छन् । निर्देशक अधिकारीले टेलिसिरियल सामाजिक कथाबस्तुमा रहेको बताए ।

मदन पुरस्कार प्राप्त साहित्यकार मोदनाथ प्रश्रितको महाकाव्य ‘मानव’मा आधारित भएर निर्देशक अधिकारीले सिरियल निर्माण गरेका हुन् । जनता टेलिभिजनले निर्माण गरेको यो सिरियल यसैि टेलिभिजनबाट प्रसारण हुनेछ । ब्रदीले अहिलेको परिवर्तित समयमा पनि ग्रामीण भेगमा मात्र नभई सहरमा समेत अझै छुवाछुत, भेदभाव र जातीय दमनका अवशेष यथावत रहेको दाबी गरे । ‘मानव–मानवबीच विद्यमान उत्पीडनको कथा टेलिश्रृंखला मानवमा रहेको छ । एक मानवले अर्को मानवलाई दिएको मानवीय पीडा माथिको यथार्थ मानव मार्फत देखाएका छौं ।’ उनले भने ।  निर्देशक अधिकारीका अनुसार पश्चिम नेपालको ग्रामीण भेगको रुढीवादी, छुवाछुतको कथा मानवमा देखाइएको उनले जानकारी दिए । आम मानिसहरुको जीवनशैलीमा परिवर्तन आएपनि सोंच भने पुरातन रहेकोले मानव अहिलेको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको निर्देशक अधिकारीले बताए ।

यस्तै टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाइले पछिल्लो समयमा हाँस्य चलचित्र र व्यापारका नाममा बनाइएका मसलाप्रधान चलचित्र हेरिरहेका दर्शकहरुको लागि मानव फरक स्वाद हुने बताएका छन् । ५५ भागको टेलिश्रृंखला मानवमा सुशील पोखरेल, अस्मिता बस्नेत, श्याम खड्का, शारदा अधिकारी, लक्ष्मण विक्रम बस्नेत, अञ्जान शर्मा, अर्जुन न्यौपाने, आना देउजा, शिशिर शिवाकोटी, उमा बाँनिया, कमल बोहरा र किशोर कोईराला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मोदनाथ प्रश्रितको महाकाव्यमाथि निर्माण गरिएको मानवको लेखन निर्देशक अधिकारी आफैंले गरेका हुन् भने सागर खड्का र विरेन्द्र भट्टले खिचेका छन् । दीपेन्द्र दोङ तामाङ कार्यकारी निर्माता हुन् । यस्तै प्रमुख सहायक निर्देशक किशोर कोईराला, सम्पादन हरि सिलवाल, संगीत शिलाबहादुर मोक्तान, गीत राजेन्द्र थापा, स्वर दीप श्रेष्ठ र शारदा अधिकारीको रहेको छ ।