सिताको जर्नी अफ फ्रेट्समा सितारका धुन

काठमाडौं । गायिका बन्ने सोच भए पनि सितारवादनमा आफूलाई पोख्त बनाएकी सितारवादक सिता मैया राजचलले सितारका धुन संग्रहित नयाँ एल्बम ‘जर्नी अफ फ्रेट्स’ श्रोतामाझ ल्याएकी छन् । सितारका धुनकै तीन एल्बम बजारमा ल्याईसकेकी सिताको नयाँ एल्बममा आठ धुन छन् ।

एल्बममा ‘वर्षा’, ‘द जर्नी’, ‘नटी माइण्ड’, ‘रोज गार्डेन’, ‘स्टेला अन ड्रिम’, ‘रि युनियन’, ‘मिष्ट्री लभ’ र ‘द बाउन्डलेस फ्लाइट’ धुन संग्रहित छन् । सिताले नयाँवर्षलाई लक्षित गर्दै एल्बममा रहेको ‘रोज गार्डेन’को भिडियो पनि सार्वजनिक गरेकी छिन । भिडियोमा प्रियंका कार्की, देव राउत र सर्वेश सुवालको अभिनय छ ।

प्रकाश तुलाधरको सम्पादन र बुद्ध थापाको छायांकन रहेको भिडियोमा निकेश खड्काको निर्देशन छ । प्रतिमा थापाले निर्माण गरेको गीतमा गितारमा अनुप दास, बाँसुरीमा नगेन्द्र राई, तबलामा लक्ष्मीप्रसाद डंगोल र मुर्चुंगामा थोमस बर्ची छन् । ललितकला क्याम्पसमा ६ वर्ष बढी समय अध्यापन गराएकी सिता ‘संगीत थेरापी’मा पनि सक्रिय छिन् । २०५४ सालबाट स्टुडियोमा सितार बजाउन शुरु गरेकी सिताले सन् २००४ मा ‘परम्परा’ र सन् २०१२ मा ‘टकिङ स्ट्रिङस’ नाम सितार धुनका एल्बम बजारमा ल्याइसकेकी छन् ।

‘मैले नेवारी, आधुनिक र पप गरि ६ गीतमा स्वर पनि दिईसकेकी छु । तर मलाइ सितार बादन नै राम्रो लाग्छ,’ उनले भनिन्, ‘म आफुलाई त्यसमै पाउछु । पछिल्लो समय सितारवादन मार्फत नै जीविकोपार्जन त सहज छैन तर सितार नै जीवन बनिसकेको छ । त्यसैले धुन संग्रहित एल्बमलाई बजारमा ल्याएकी छु ।’