काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको फिल्म ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ ।
मंसिरको अन्तिम साताबाट सुरु भएको फिल्मको छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन गरी छायांकन पुरा गरिएको हो ।
फिल्मको प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो फिल्म विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले फिल्म रिलिज गर्न लागेको हो ।
‘कर्मा’को फर्स्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माणपक्षले फिल्मका मुख्य कलाकार विपिन कार्कीलाई प्रस्तुत गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको थियो ।
एक्सन जनरामा यो फिल्म निर्माण भएको छ । फिल्ममा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।मुकुन यो फिल्ममा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको निर्माण छ ।