लण्डनमा राजेश हमालको स्टेण्डअप कमेडी

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमाल कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा छन् । आज आइतबार साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा हमाल र कमेडियन सन्दीप क्षेत्रीले एउटै मन्चमा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपाली फिल्ममा झण्डै ३५ वर्ष बिताइसकेका अभिनेता राजेश हमालले शुक्रबार साँझ लन्डनमा आयोजित प्रेस मिटमा भने, ‘साथीभाईहरुलाई हँसाए जस्तो स्टेजमा गएर सबैलाई हँसाउनु पक्कै सहज छैन। तर, जीवनमा केही फरक गरौं न त भन्ने लागेर स्ट्याण्डअप कमेडी गर्दैछु । उत्साह पनि छ, केही डर पनि ।

कलाकार क्षेत्रीले आफूले राजेश हमालमा धेरै ‘सेन्स अफ ह्युमर’ देखेको खुलाए । ‘उहाँ अभिनयमा जति सिरियस हुनुहुन्छ, हँसाउन त्यत्तिकै खप्पिस भएकाले दाईसँग मेरो केमेस्ट्री मिल्यो । मैले राजेश दाईसँग विश्व टुर गर्ने लक्ष्यसहित सहकार्य गरेको हुँ’, क्षेत्रीले भने, ‘मैले सुरुमा दाइलाई यस्तो कार्यक्रम गरौँ भनेर अफर गर्दा उहाँले ह्वाइ नट तर कमेडीका लागि तयारी गर्न त केही समय चाहिन्छ के कस्तो छ भनेर सोध्नुभयो । मैले समय बताएपछि झण्डै ४ महिनादेखि हामी यसमा लाग्यौं । नाउ वी आर रेडी टु परफर्म ।’

राजेश सन्दीपकै स्टेजमा गायक नवीन के भट्टराई र उनको ब्यान्ड ‘अतृप्त’ का सदस्यहरु पनि लाइभ म्युजिकमा परफर्म गर्दैछन् । पत्रकार सम्मेलनमा नवीनले आफूहरुले सक्दो उत्कृष्ट प्रस्तुति दिन प्रयास गर्ने बताए । ‘सधैं एउटै कामले दिक्क भएजस्तो लागेर बिचमा म ६–७ वर्ष ओझेल परेको थिएँ । अब फेरि हामी स्टेजमा सक्रिय भएका छौँ’’ गायक भट्टराईले भने ।

आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डेले कलाकारहरुलाई स्वागत गर्दै कार्यक्रम तयारीबारे जानकारी दिएका थिए । आयोजककै तर्फबाट डा। रक्षा थापाले लिजेन्ड्री कलाकारहरुलाई निम्त्याएर कार्यक्रम गर्न पाएकोमा आफूलाई गर्व लागेको बताइन् ।