अनुपविक्रम भन्छन्–जारको चरित्र मेरो करियरकै गाह्रो

काठमाडौं । अभिनेता अनुपविक्रम शाही यही वैशाख २६ गते रिलिज हुने फिल्म ‘जार’लिएर दर्शकमाझ आउँदैछन् । हरेक फिल्ममा भिन्न भिन्न चरित्रमा अभिनय गर्न रुचाउने यी अभिनेता ‘जार’मा पनि भिन्न चरित्रमा देखिएको दाबी गर्छन् ।

‘जार’ साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथा हो । यही कथालाई आधार बनाएर फिल्म निर्माण गरिएको छ । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको फिल्म हो । इन्द्रबहादुरले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए ।

त्यसकारण पनि निर्माण पक्षले त्यही समयको रहनसहन, भेषभुषामा कलाकारलाई प्रस्तुत गरेका छन् । फिल्मको कथा अनुसार अनुपविक्रमको श्रीमतिको भूमिकामा अभिनेत्री गीताञ्जली थापा छिन् । गीताञ्जलीलाई अर्का अभिनेता सौगात मल्लले भगाएपछिको अवस्थालाई फिल्ममा चित्रण गरिएको छ ।

अनुपविक्रमले आफ्नो चरित्र निर्वाह गर्न निकै चुनौतीपूर्ण लागेको बताए । ‘मैले जारको विषयमा केही बुझेको थिइनँ । त्यसकारण जारको बारेमा बुझ्न केही समय लाग्यो । यसको कथा पढेपछि म गर्न सक्छु कि सक्दिनँ भन्ने भयो । किनकी जारको क्यारेक्टर मेरो करियरकै सबैभन्दा गाह्रो हो । त्यसमाथि पनि त्यो समयको भाषा, अवस्था, भेषभुषा अपनाउनुपर्ने थियो’, उनी भन्छन् ।

फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन् ।