काठमाडौं । फिल्म ‘जार’को प्रिमियर सम्पन्न भएको छ । नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ग्रयाण्ड प्रिमिएर सम्पन्न भएको हो ।
मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, ललितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमी, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
फिल्म हेरेपछि अधिकांशले फिल्मको तारिफ गरेका छन् । संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने फिल्मले प्रेम र वीरता पनि प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ । फिल्ममा प्रयोग गरिएको भीएफएक्स र प्रयोग गरिएका गीतसंगीतको खुलेर तारिफ भएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको फिल्म ‘जार’ पूर्ण मौलिक फिल्म बनेको बताउँदै त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि अहिलेको पुस्ताले यो फिल्म हेर्नु पर्ने सुझाव दिए ।
ललितपुरका सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदम फरक र पूर्ण मौलिक फिल्म लागेको बताए । राम्रो काम गरेकोमा जारको टिमलाई बधाई दिँदै राम्रो फिल्म निर्माणको उदाहरण ‘जार’ भएको उनले बताए ।
अभिनेत्री मनिषा कोइरालाले पनि ‘जार’ नेपाली फिल्मको बढ्दो स्तरको प्रमाण भएको बताइन् । उनले भनिन्, ‘हामीले पछिल्लो समय उत्कृष्ट फिल्म दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो । यसले हाम्रो इतिहास र साहित्यलाई चलचित्रको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ ।’
अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली फिल्मको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन् ।
निर्देशक दिपेन्द्र लामाले ‘जार’ हेरेपछि निर्देशकको कलात्मक उत्कृष्टता र नेपाली सिनेमामा नयाँ उचाइ भएको प्रतिक्रिया दिएका छन् । १८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्म आउँदो वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
फुर्वा छिरिङ लामा निर्देशित फिल्म यही शुक्रबारबाट रिलिज हुँदैछ । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।






