अपरेसन सिन्दुर फिल्म बनाउन बलिउडमा निर्माताको हानाथाप

मुम्बई(एजेन्सी) । भारत र पाकिस्तानको सीमावर्ती जम्मु र कश्मिरको पहलगाममा केही समय अघि आतंकवादी आक्रमण भएपछि भारत र पाकिस्तानबीच भीडन्त सुरु भएको छ । पहलगाममा पाकिस्तानी पक्षले आक्रमण गरेर एक नेपालीसहित २५ जनाको मृत्यु भएपछि भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएर पाकिस्तानमाथि आक्रमण सुरु गरेको छ ।

बलिउडले पनि भारतको निर्णयको स्वागत गरेको छ । यही परिप्रेक्ष्यमा बलिउडका केही नाम चलेका निर्माताहरु ‘अपरेसन सिन्दुर’ नाममा सम्भावित फिल्म बनाउन दर्ताका लागि हानाथाप गर्न सुरु गरेका छन् ।
स्रोतका अनुसार धेरै फिल्म प्रोडक्सन कम्पनीले आफ्ना प्रतिनिधीलाई आफ्नो नाममा फिल्म दर्ता गराउन पठाइरहेका छन् । यो सूचीमा महावीर जैन कम्पनी अग्रपंक्तिमा छ ।

त्यस्तै जी स्टुडियो र टी सिरिजले पनि यही नाममा फिल्म दर्ता गराउने तेस्रो र चौथो सूचीमा छन् । बलिउडका लोकप्रिय निर्देशक मधुर भण्डारकर पनि यो नाममा सम्भावित फिल्म बनाउन नाम दर्ता गर्न कम्मर कसेर लागेका छन् ।

बलिउडका विशेषज्ञहरु ‘अपरेसन सिन्दुर’ आफैंमा बलियो सिनेमाटिक अपिल भएका कारण पनि निर्माताहरुबीच नाम दर्ता गराउन प्रतिष्पर्धा चलेको बताउँछन् ।

यसअघि मिलिटरी अपरेसनका विषयमा निर्माण भएका फिल्महरु ‘द सर्जिकल स्ट्राइक’, ‘बोर्डर’, ‘अमरन’ र ‘राजी’ जस्ता फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेपछि निर्माताहरु यस्ता कथाका फिल्म बनाउन अग्रसर हुन थालेका छन् ।

त्यस्तै कार्गिल युद्धमा आधारित फिल्महरु ‘लक्ष्य’, ‘शेरशाह’ र ‘गुञ्जन सक्सेनाः द कार्गिल गर्ल’ ले पनि दर्शक र समीक्षकको ध्यान राम्रैसँग तानेको थियो ।

‘अपरेसन सिन्दुर प्रति बलिउडको बढ्दो चासोले फिल्म उद्योगमा तिब्र छलफल सुरु भएको छ । अहिले कुन निर्माताले यो फिल्मको अधिकार लिन्छन् भन्ने चासो छ । नियम अनुसार जुन निर्माताले सबैभन्दा पहिला यो नाममा फिल्म निर्माणका लागि निवेदन दिएको छ, उसले नै अधिकार पाउने बलियो सम्भावना छ’, स्रोतले भनेको छ ।