काठमाडौं । अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १५ सेकेण्ड लम्बाइको ट्रेलरले बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार जस्ता विषयलाई उठान गरेको छ ।
ट्रेलरमा हमाललाई रोमान्टिक र रिसाहा लुक्समा देखाइएको छ । ट्रेलर हेर्दा उनले अन्याय र अत्याचारविरुद्ध लडाई लडेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । ट्रेलरको अन्तिममा राखिएको हमालको चर्चित संवाद ‘हे’लाई राखिएको छ । ट्रेलरमा राजेशको एक्सन हेर्न लायक छ । अर्का नायक राज कटवालको एक्सनलाई पनि प्राथमिकता दिइएको छ ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सरोज खनाल, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, अमित गिरी, एभेलिना खड्का लगायतको पनि अभिनय छ । फिल्मको निर्माताहरुमा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने रहेका छन् ।
आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा, राजु तामाङको द्वन्द्व निर्देशन, रिकेश गुरुङको ब्याकग्राउन्ड स्कोर, समीर मियाँको भीएफएक्स तथा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी छ ।