प्रदीप–जसिताको प्रेमलाई ४ करोड !

काठमाडौं । गत चैत ३० बाट रिलिज फिल्म ‘लिली बिली’ले मंगलबारसम्म ४ करोड ५ हजारको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ । फिल्मका निर्माता तथा वितरक गोविन्द शाहीका अनुसार फिल्मले पहिलो साता चार करोड ७५ लाख व्यापार गर्ने अनुमान गरिएको छ ।

उनका अनुसार यो फिल्म मुलुकका ९६ सिनेमा हलमा प्रदर्शन भईरहेको छ । ‘बुधबार काठमाडौं उपत्यकाको क्युएफएक्समा १४ शो, बिग मूभिजमा ७ शो, एसक्युबमा ६ शो, बिएसआरको एउटा हलमात्र चलेको भए पनि तीन शो पाएको छ । यस्तै गोपिको गोपि र नममा, गुणको क,ख,चमा अष्ट क र खमा, बाराही क लगायत सबै जसो सिंगल थिएटरमा पनि फिल्मले राम्रो व्यापार गरेको छ ।’ शाहीले भने ।

फिल्म नेपालसहित बेलायत, स्कटल्याण्ड र टर्कीमा छायांकन गरिएको छ । प्रदीप खड्का र जसिता गुरुङको रोमान्टिक प्रेमकथा रहेको फिल्ममा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, धुब्र दत्तलगायतका कलाकारका अभिनय छ । लिली बिलीलाई गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सले निर्माण गरेका हुन् । फिल्ममा मिलन चाम्सको निर्देशन छ ।