काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि फिल्ममा देखिँदैछन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण फिल्म अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए ।
राजेश फिल्म ‘नरसिंहा अवतार’मार्फत ८ वर्षपछि दर्शकमाझ कमव्याक हुँदैछन् । उनले विगतका वर्षमा फिल्ममा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट पारे ।
‘मलाई फिल्ममा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस फिल्ममा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । फिल्मको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म फिल्ममार्फत ठूलो पर्दामा पुनः आएँ”, उनले भने । उनले फिल्मले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको जानकारी दिए ।
फिल्मका निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः फिल्मको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए । ‘अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । त्यसैले उहाँलाई दर्शकको भावनाअनुरुप फिल्ममा प्रस्तुत गर्नु मेरा लागि ठूलो चुनौती थियो । उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनु पर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो फिल्मको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु’, निर्देशक भट्टराईले भने ।
फिल्ममा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् ।
आगामी जेठ ९ गते नेपालभर प्रदर्शन हुने फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।






