केकी भन्छिन्–लेखन र निर्देशनभन्दा कलाकारितामै खुशी छु

काठमाडौं । अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’बाट निर्माणमा पाइला चालिन् । फिल्मको गीत ‘बुझिनँ मैले बुझाईदेउ कसैले’ हिट भएसँगै फिल्म पनि हिट साबित भयो । फिल्मले बक्सअफिसमा झण्डै १० करोड बढी कारोबार गर्यो ।

अभिनयबाट जोकोहीको ध्यान खिच्न सक्ने अभिनेत्री केकी फिल्म लेखन र निर्देशनमा चाहिँ कहिल्यै आउँछिन् भन्ने चासो दर्शक र फिल्मकर्मीमा उत्तिकै छ । आगामी जेठ २ गतेबाट रिलिज हुने फिल्म ‘के घर के डेराः घर नं. २’को प्रमोसनमा व्यस्त केकीलाई फिल्म लेखन र निर्देशनमा रुचीको विषयमा प्रश्न सोधिएको थियो ।

केकीको जवाफ सुन्दा उनलाई लेखन र निर्देशनमा भन्दा पनि अभिनयमा नै आफूले निरन्तरता दिइरहने संकेत दिइन् ।

‘इच्छा वा चाहना भन्ने कुरा एकातिर छ । तर त्यो खालको अभ्यासमा आफूलाई त्यति निपूर्ण बनाउन सकेको छैन । फिल्म उद्योगमा लेखन र निर्देशनमा निपूर्ण व्यक्तिहरु हुँदाहुँदै उहाँहरुबाटै काम निकाल्दा बेटर हो । मेरो जे चिजमा दक्षता छ, त्यसमा आफूलाई निपूर्ण बनाउन मन लाग्छ’, केकी भन्छिन् ।

केकीले एमबीए अध्ययन पुरा गरेकी छिन् । त्यसकारण पनि उनमा व्यवस्थापन र उत्पादनमा अनुभव छ । ‘मेरो पढाई एमबीए भएकाले आफूलाई व्यवस्थापन र उत्पादनमा अब्बल मान्छु । बरु म आफूलाई त्यतातिर लैजान चाहन्छु । फेरी सबै कुरा एकैपटक गर्दा त्यसलाई जस्टिफाई गर्न पनि सकिँदैन । म अहिले कलाकारितामै खुशी छु’, केकी भन्छिन् ।