रिमै प्रिमियरमा कसले के भने ?

काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’को हिजो बुधबार रिलिजको पूर्वसन्धयामा प्रिमियरको आयोजना गरियो । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो ।

शोअघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरुप सोरठी नाच समेत प्रस्तुत गरियो ।फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको भेषभुषामा देखिए । यो फिल्मको प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका सेलिब्रेटीहरु पुगेका थिए ।

फिल्म हेरिसकेपछि अभिनेताबाट निर्देशक बनेका विल्सनविक्रम राईले ‘रिमै’ मन छुने फिल्म बनेको बताए । यो फिल्म हालसम्म गुरुङ समुदायमाथि बनेको उत्कृष्ट फिल्म भएको आफ्नो बुझाई रहेको उनको भनाई थियो । अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि रिमै निकै राम्रो बनेको प्रतिक्रिया दिए । अभिनेत्री रिश्मा गुरुङले पनि आफ्नो करिब ८ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेकाले फिल्म हेरिरहँदा रोचक लागेका अनुभव सेयर गरिन् । फिल्मका निर्देशक खिलबहादुर गुरुङ आफुले विगत ३ वर्ष यता रातदिन रिमै बाहेक अरु केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुशी लागेको बताए ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह(निर्मातामा छन् ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो सिनेमा आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।