काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो ।
पोस्टरमा फिल्मका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले मुख्य स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् । एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निरास देखिएका छन् ।
दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन् । उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।
तेस्तै सार्बजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ राई र विजय बराल बिचको नोकझोकलाइ प्रस्तुत गरिएको छ । फिल्म कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ । फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।






