काठमाडौं । फिल्म ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने फिल्मको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन् ।
फिल्ममा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् । उनको यो तेस्रो फिल्म हो । मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो ।
रक क्यास्टर स्टुडियोको निर्माण रहने फिल्म घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन् । उनी क्यामेरा अगाडि रहेर क्यामेरालाई नमस्ते गरिरहेका छन् । उनको लुक्स, गेटअप र ढोगाइले उनी अभिनेता रहेको संकेत गर्छ ।
अर्को पोस्टरमा उनी पिसिओमा उभिएर फोनमा कुरा गरिरहेका छन् । ल्यान्डलाइन फोन र उनको र सोफीको गेटअपले यो फिल्मले दुई दशक अगाडिको कथा भन्न लागेको संकेत गरेको छ । यसमा सोफी केही रिसाइरहेकी छिन् ।
अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन् । चुरोट तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको छ ।






