काठमाडौं । नेपाली फिल्म ‘कुमुदे हिड्यो हिरो बन्न’ निर्माण हुने भएको छ । साहित्यकार तथा गीतकार जानकी पन्त ‘जुन’को डेब्यु निर्देशन रहने फिल्मले एउटा पात्र जो जिन्दगीमा हरेक कुरामा हिरो बन्न चाहन्छ, उसैको कथा बोल्नेछ ।
कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता बिष्णु पन्त शर्मा आचार्य र सह–निर्मातामा चक्रबहादुर बराल रहेका छन् । फिल्ममा कार्यकारी निर्माता रंग पत्रकार एवम रेडियो प्रस्तोता भोला सुबेदी ‘आर्जे प्रणव’ रहेका छन् । फिल्मको नेपालको दाङ, पोखरा र काठमाडौंसहित विदेशको हकमा बेलायतमा छायांकन गरिनेछ । निर्देशक जानकीले फिल्म बायोपिक र सत्यकथामा आधारित रहेर निर्माण गरिने बताइन् ।
आगामी सोमबारबाट दाङको घोराहीबाट फिल्मको मुहुर्त गरेर छायांकन सुरु गर्दै करिब २० दिनको छायांकन पश्चात बाँकी छायांकनको लागि तिहार लगत्तै बेलायत जाने फिल्म निर्माता बिष्णु पन्त शर्मा आचार्यले बताए ।
चलचित्रमा कुमुदेको पात्र भने अभिनेता कुमुद पन्तले निर्वाह गर्नेछन् । निर्माण पक्षले फिल्मका लागि नायिकाको खोजी गरिरहेको छ । फिल्ममा किरण दाहालको द्वन्द्व , विपिन आचार्य र ओम सुनारको संगीत र सन्देश शाहको सम्पादन हुनेछ । फिल्म २०८३ सालमा रिलिज हुनेछ ।






