काठमाडौँ । भारतीय अभिनेत्री प्राजक्ता कोलीले पूर्व निर्धारित नेपाल भ्रमणको योजना रद्द गरेकी छन् । नेपालमा जेन जीको आन्दोलनपछिको माहोललाई मध्यनजर गर्दै उनले नेपाल यात्राको पूर्व योजना तत्काललाई स्थगित गरेकी हुन् ।
उनले इन्स्टाग्राम एकाउण्टमा नेपालमा भएको घटना प्रति दुःख व्यक्त गर्दै नेपाल भ्रमणको योजना रद्द गर्नु परेको खुलाएकी छन् । ‘नेपालमा जे भयो, त्यो हृदयविदारक छ । यस्तो समयमा त्यहाँ गएर कुनै पनि उत्सव मनाउनु मेरो लागि अनुत्पादक हुन्छ । पीडित परिवारप्रति मेरो सहानुभूति छ । म त्यहाँ हुन र सबैलाई भेट्न उत्सुक थिएँ । तर अहिले सही समय होइन । आशा छ, म तपाईँहरु सबैलाई चाँडै भेट्न पाउनेछु,’ उनले लेखेकी छन् ।
प्राजक्ताले रोमान्टिक ड्रामा सिरिज ‘मिसमेच्ड’ र फिल्म ‘जुग जुग जियो’मा अभिनय गरेकी छन् । उनी मस्टलीसेन नामक युट्युब च्यानलको सञ्चालक पनि हुन् । उनले गत फेब्रुअरी, २०२५ मा नेपालका युवा वृशांक खनालसँग विवाह गरेकी थिइन् । उनीहरु १३ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।






