दिशाको घरमा अन्धाधुन्ध फायरिङ

मुम्बई । अभिनेत्री दिशा पाटनीको घरमा अज्ञात बन्धुकधारीले अन्धाधुन्ध फायरिङ गरेका छन् । उत्तर प्रदेशको बरेलीमा अवस्थित उनको घरमा शनिबार बिहान ३ बजे फायरिङ गरेका हुन् ।

दिशाका पिता जगदीशले घटनाको विषयमा प्रहरी र स्थानीय प्रशासनले अध्ययन गरिरहेको बताएका छन् । ‘यो घटना बिहान भएको हो । २ अज्ञात व्यक्ति बाइकमा आएर मेरो घरमा फायरिङ गरेर फरार भए । स्थानीय प्रहरी, एसएसपी र एडिजीसहित प्रहरी समूह यसको अनुसन्धानमा सक्रिय छ । कैयौँ समूहले अनुसन्धान गरिरहेका छन् । जसै कुनै नतिजा निस्कन्छ, हामी सार्वजनिक गर्छौं’ जगदीशले भनेका छन् ।

उनले आफ्नो कोहीसँग दुस्मनी नरहेको बताएका छन् । ‘म प्रहरी र सैनिक पृष्ठभूमिबाट छु । यदि कसैले मलाई पुरानो रिसिभी मान्छ भने, यो भन्न मुस्किल छ । तर मेरो जानकारीमा मेरो कोहीसँग दुश्मनी छैन’, उनले भनेका छन् ।

उनले छोरी खुश्बु पाटनीको सामाजिक सञ्जाल पोस्टमा उठेको विवादबारे पनि बोलेका छन् । केही समयअघि खुश्बुको नामबाट सामाजिक सञ्जालमा एक पोस्टर भाइरल भएको थियो, जसमा साधु सन्त र धर्मविरुद्ध टिप्पणी गरिएको थियो । ‘हामी सनातनी हिन्दु हौ र सबै धर्मलाई सम्मान गर्छौं । यदि कसैले खुश्बुको पोस्टलाई काँटछाट गरेर गलत तरिकाले पोस्ट गरेको छ भने त्यो सामाजिक सञ्जालको गलत प्रयोग हो । हामी यस्तो काम गर्दैनौँ,’ उनले भनेका छन् ।

उनले यो घटनाले परिवार नडराएको दाबी गरेका छन् । ‘म फोर्सबाट हुँ । मैले यस्तो परिस्थितिमा कसरी सुरक्षा लिने भनेर तालिम लिएको छु । हामी दबाबमा छैनौँ । प्रहरी र प्रशासन हाम्रो साथमा छ’, उनले भनेका छन् ।