काठमाडौँ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा अभिनेता राजेश हमाललाई ‘स्टारलिंक चलचित्र सम्मान’ प्रदान गरिएको छ । नेपाली फिल्म क्षेत्रमा ३ दशकभन्दा बढी समयदेखि सक्रिय हमालले अभिनय, व्यक्तित्व, शिष्टाचार र समाजसेवामार्फत सम्पूर्ण नेपाली समाजलाई प्रेरित गर्दै आएको योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको हो । स्टारलिंक मोट्रर्गेज एन्ड फाइनान्सेसको मुख्य प्रायोजन रहेको सम्मान कार्यक्रम फोटो कथाको आयोजनामा गरिएको हो ।
हमाललाई प्रदान गरिएको सम्मान पत्रमा उनलाई नेपाली फिल्मका सबैभन्दा चम्किला तारामध्ये एकका रूपमा व्याख्या गर्दै उनले ‘महानायक’ उपाधि मात्र नभई सम्पूर्ण सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको योगदानलाई उल्लेख गरिएको छ ।
‘हमालज्यूले समाजप्रति देखाउनुभएको जागरुकता, हरेक पात्रमा देखिने गहिरो समर्पण, र नयाँ पुस्तालाई दिनुभएको निरन्तर प्रेरणा नेपाली चलचित्र क्षेत्रको गौरवको विषय हो’, सम्मानपत्रमा लेखिएको छ ।
सम्मान ग्रहण गरेपछि हमालले प्रवासमा जन्मिएका र हुर्किएका दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोडिने किसिमका काम गर्न सुझाव दिए । ‘तपाईंहरू नेपाली मौलिकता र पहिचान नबिर्सनुहोला’, उनले भने ।
फोटोकथाले हमालको दीर्घायु, निरन्तर सृजनशीलता र नेपाली कला–संस्कृतिको गौरव बढाउँदै लैजाने यात्राका लागि शुभकामनासमेत दिएको छ । कार्यक्रममा क्यानबेरामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, नेपाली समुदायका अगुवा, कलाप्रेमी तथा पत्रकारहरूको उपस्थिति थियो ।






