काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो बर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको फिल्मको ट्रेलर शनिबार सार्वजनिक भएको हो। दिपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ।
हरिवंश आचार्य फिल्ममा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्। ट्रेलरमा हरिवंशको खुसी र दुःखलाई देखाइएको छ । नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई फिल्मको ट्रेलरमा समावेश गरिएको छ। त्योसंगै युवापुस्ताले खोजेको राजनैतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाइ पनि ट्रेलरमा प्रस्तुत गरिएको छ।
दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्णबहादुर थापाले खिचेको फिल्ममा नकुल खड्काको सम्पादन छ । फिल्ममा वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत, आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।






