काठमाडौं । नवगायक रुजन सिवाकोटीले ‘चञ्चले आँखा’को भिडियो अमेरिकाबाटै रिलिज गरेका छन् । अमेरिकाको भर्जिनियामा रहेर स्थानीय कार्यक्रममा गीत गाउँदै आएका झापाका गायक रुजनलाई यो गीतमा युगल स्वरमा गायिका मेलिना राईले साथ दिएकी छिन् । यो गीत अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रुजनले रेकर्ड गरेका हुन् ।
डीपी खनालले लेखेको यो गीतमा देवेन्द्र बरालले संगीत गरेका हुन् । गीतमा विषम आचार्यको संगीत संयोजन, कुमार केसीको मिक्सिङ रहेको छ ।
सुनिल क्षत्री र नायिका केकी अधिकारीले अभिनय गरेको यो गीतको भिडियो रुजनले आफ्नो अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका छन् ।
भिडियोको निर्देशन पनि सुनिलले नै गरेका हुन् । भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको सम्पादन र रंग संयोजन छ ।






