काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । सोज १३ गतेकै दिन चारवटा नेपाली फिल्म एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको फिल्म ‘अभिमन्यु’ देशमा भएको जेनजीआन्दोलनका कारण स्थगन गर्नु परेको थियो । तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य धेरै चलचित्रहरू प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली चलचित्रहरूलाई समेत असर पार्ने अवस्था देखियो । यी सबै पक्षलाई विचार गरी हामीले शुभ साईत असोज २४ गते लाई चलचित्रको अन्तिम प्रदर्शन मिति तय गरेका छौँ । यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउछौँ । तपाईंहरूको साथ र समर्थनका लागि आभारी रहँदै यस निर्णयका कारण देश तथा विदेशमा रहनुभएका वितरक, प्रदर्शक, दर्शक र सन्चारमाध्यममा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । सुशान्त गौतमले निर्देशन गरेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस फिल्ममा मुकेश खनालको लेखन रहेको छ ।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् । शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।






