कार्तिक २१ पुग्यो अभिमन्युः च्याप्टर १

काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले फिल्म प्रदर्शनको मिति हेरफेर गरेको हो ।

यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो फिल्म अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ । फिल्मका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् । दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा फिल्म प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ । उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

फिल्म नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका सिनेमा घरहरूमा प्रदर्शन गरिनेछ । यसका साथै, भारत र विश्वका विभिन्न देशहरूमा समेत कार्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायत कलाकारहरू मुख्य भूमिकामा छन् । फिल्मको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । यस फिल्ममा मुकेश खनालको लेखन रहेको छ ।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।