काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । दयाहाङ र विजय प्रायः धेरै फिल्ममा सँगै देखिन्छन् । हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्म यी दुई कलाकार सँगै हुन्छन् । यस्तै यी दुई अभिनेता सँगै रहेको फिल्म हो, ‘वरिष्ठ बलराम’ ।
यो फिल्मका अहिलेसम्मका प्रचार सामग्रीमा दुवै कलाकार उत्तिकै स्पेसमा देखिएका छन् । पोस्टर, मोसन पोस्टर र टिजरमा दयाहाङ र विजयले बराबर स्पेस पाएका छन् ।
पोस्टर र टिजरमा यी दुई आपसी नोकझोकमा देखिएका छन् । एकले अर्कोलाई देखि नसहेको अवस्थामा चित्रण गरिएको छ । केही समयअगाडि ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको थियो । ‘न्यौली बनैमा’ बोलको गीतमा विजय र समृद्धि अर्यालको जोडी देखियो । यो गीतमा दयाहाङ देखिएनन् ।
यसले यो फिल्मको हिरो को हो भन्नेमा शंका पैदा गरिदिएको छ । लिगेसी हेर्दा यो फिल्मको मुख्य भूमिकामा दयाहाङ हुने सम्भावना धेरै छ । तर, पछिल्लो समय विजय पनि मुख्य भूमिकामा बाक्लै देखिन थालेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ हिट भएपछि विजयले लगातार मुख्य भूमिकामा काम गरिरहेका छन् ।
नाम सुन्दा बलराम मंगोल समुदायमा यो नाम (बलराम) कमै हुन्छ । तर, हुँदै नहुने पनि होइन । बलराम नाम क्षेत्री ब्राह्मण समुदायमा धेरै राख्ने गरिएको छ ।
त्यसैले यो फिल्मको मुख्य पात्र अथवा नायक को हो भन्नेमा कौतुहलता पैदा हुन थालेको छ । कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।






